धनगढी- धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ। उपमहानगरले विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रमू अन्तर्गत यो वर्ष ५१ सामुदायिक विद्यालयमा बिरुवा रोप्न सुरू गरेको हो । मङ्गलवारबाट बिरुवा रोप्न थालिएको हो । मङ्गलवार १६ सामुदायिक विद्यालयमा एक हजार ५२५ बिरुवा रोपिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।
उपमहानगरले शिक्षा महाशाखाका प्राविधिक सहायक केशव खत्रीलाई सामुदायिक विद्यालयमा बिरुवा रोप्ने कार्यक्रमको जिम्मेवारी दिएको छ । जस अनुसार धनगढीका ६८ सामुदायिक विद्यालय मध्ये पर्खाल भएका ५१ विद्यालयमा कति बिरुवा रोप्न सकिन्छ भन्ने स्टिमेट निकालेर विद्यालयहरूलाई फलफूलको बिरुवा वितरण गरिन लागेको हो ।
विद्यालयमा आँप र अम्बा रोपिदै
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा आँप, अम्बा र लिचीका बिरुवा वितरण गरेको छ । विद्यालयमा बिरुवा रोपेर संरक्षण गर्न सजिलो हुने र फल्न थाले पछि बालबालिकाहरूलाई नै खान दिने उद्देश्यले फलफूलका बिरुवा रोप्ने योजना बानाइएको नगर प्रमुख गोपाल हमालले बताए । पर्यावरणको संरक्षण गर्न र बालबालिकाहरूलाई खान दिने हिसाबले फलफूल रोप्न लागेको नगर प्रमुख हमालले बताए ।
पर्यावरणको संरक्षण र बालबालिकाले फल खान सकून्, रुखमा चढेर रमाउन सकून् भनेर फलफूलको बिरुवा रोप्न थालिएको हो, उनले भने, विद्यालयले फलफूल बिक्री गरेर आम्दानी गरोस् भनेर रोपिन लागेको होइन । विद्यार्थी र पर्यावरणका लागि फलफूलको बिरुवा रोप्न थालिएको हो । विद्यार्थीहरूले विद्यालयमा पढ्दै मौसमअनुसार पाक्ने फलफूल टिपेर खान पाउन भनेर हरेक विद्यालयमा जग्गाको क्षेत्रफलका आधारमा आँप र अम्बाको बिरुवा वितरण गरिने कार्यक्रम संयोजक केशव खत्रीले बताए ।
बिरुवा हुर्काउन विद्यार्थीलाई जिम्मेवारी दिइने
विद्यालयमा रोपेका बिरुवा हुर्काउन विद्यालयहरूले विद्यार्थीहरूलाई जिम्मेवारी दिने बताएका छन् । रोपिएका बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र संरक्षण गर्ने दायित्व इको क्लबका विद्यार्थीको जिम्मा लगाएर हरेक बिरुवाको संरक्षण गरिने भएको छ । बिरुवाको हेरचाह गर्न विद्यार्थीहरूलाई जिम्मा दिइने पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए । उनले विद्यार्थीहरूलाई प्रत्येक बोटको जिम्मेवारी दिँदा बिरुवा संरक्षण हुने बताएका छन् ।
बिरुवा फल्न थालेपछि बिद्यार्थीले नै खान पाउने
नगर प्रमुख हमालले विद्यालयको आम्दानी बढाउन बिरुवा फल्न थाले पछि ठेक्कामा लगाउने र बिक्री नगरिने बताए । उनले विद्यार्थीले फलफूल टिपेर खान सकून् भनेर फलफूलका बिरुवा रोप्ने अभियान चलाएको स्पष्ट पारेका छन् । यस्तै, धनगढी-१६ बेहडाबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज शर्माले विद्यालयमा ६५ बिरुवा आँप र १५ बिरुवा अम्बाको रोपिएको बताएका छन् । उनले बिरुवाले फल दिन थाले पछि बालबालिकाले नै दिवा खाजाको रुपमा फलफूल खान पाउने व्यवस्था मिलाइने बताएका छन् ।
बिरुवा रोप्नु मात्रै ठुलो कुरा नभएर तिनको संरक्षण गर्नु महत्त्वपूर्ण कुरा भएको नगर प्रमुख हमालले बताएका छन् । विद्यालय तथा अन्य सार्वजनिक ठाउँमा रोपिएका बिरुवाको संरक्षण गर्न सबैले लाग्नुपर्ने हमालले बताएका छन् । उनले उपमहानगरपालिकाले बिरुवा रोप्ने मात्रै होइन तिनको संरक्षणमा समेत ध्यान दिइरहेको बताएका छन् ।