न्यनतम सेवा मापदण्डमा प्रादेशिक आयुर्वेद चिकित्सालयले २७ दशमलव २८ अकं पायो

धनगढी- न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय राजपुरले २७ दशमलव २८ नम्बर पाएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले गरेको न्यूनतम सेवा मापदण्ड लेखाजोखामा चिकित्सालयले २७ दशमलव २८ नम्बर पाएको हो ।

चिकित्सालय स्थापनाको छोटो समयमा केही सकारात्मक कार्य गरेपनि बिभिन्न समस्या कायमै देखिएका छन् । न्यूनतम सेवा मापदण्ड लेखाजोखामा प्रतिवेदनले चिकित्सालयमा एक्सरे सेवा, पन्चकर्म, पुर्वकर्म, अप्रेसन सेवा, क्यान्टिन, पार्किङ, फोहोरमैला लगायतमा त्रुटि देखाएको छ ।

सो त्रुटि सही रहेको चिकित्सालयका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राम कामेश्वर ठाकुरले बताएका छन् । चिकित्सालय स्थापनाको छोटो समयमा गुणस्तरीय सेवा दिने प्रयास गरेपनि धेरै त्रुटि कायमै रहेको उनले स्वीकारे । कर्मचारी तहबाट भएका कमी कमजोरी सच्याएर अघि बढ्ने बताएका डा.ठाकुरले चिकित्सालयमा आवश्यक पर्ने बजेट तथा जनशक्ति र उपकरणको पूर्ति गर्नुपर्ने माग राखे ।

हामी हाम्रा कमी कमजोरी सच्याउने छौँ उनले भने “यो भनिरहँदा हामीलाई आवश्यक पर्ने जनशक्ति नै छैन, एउटा कम्प्युटर अपरेटर पाउन सकेका छैनौँ, नवौँ तहको विशेषज्ञ चिकित्सक छैन, आवश्यक बेड अभावै छ, अनी भने अनुसार सेवा दिन सकिरहेका छैनौँ ।” चिकित्सालयमा अभाव भएको आवश्यक औषधी उपकरण सँगै जनशक्तिको पदपूर्ति भए चाँडै सय प्रतिशत पुग्ने उनको विश्वास छ ।

आयुर्वेद चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टले निकै समस्यामा रहेको चिकित्सालयलाई जेनतेन सुधार तर्फ ल्याउन सकिएको बताए । विगतमा निकै समस्याहरू थिए ति समस्या हामी सुधार गर्दै लगिरहेका छौँ उनले भने “कर्मचारी साथीहरूलाई इमानदार भएर काम गर्न अनुरोध गरेका छौँ, तपाइहरुलाई परेका समस्यामा हामी सहयोग गर्छौँ, हामी चिकित्सालय बनाउन राजनीतिक क्षेत्रमा पहल गरिरहेका छौँ, अँझै गर्ने छौँ र यहाँका नागरिकलाई सर्वसुलभ आयुर्वेद चिकित्सा सेवा दिने छौँ ।”

स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय सुदूरपश्चिमका आयुर्वेद महाशाखा प्रमुख डा.चेतराज जोशीले बिस्तारै चिकित्सालय सुधार भइरहेको बताए । बषौँ पुराना अस्पतालहरूको अवस्था अँझै दयनीय छ, आयुर्वेद चिकित्सालय स्थापना भएको धेरै भएको छैन जोशीले भने “सुधार हुँदै जाने छ, हाम्रा उद्देश्य र काम सही भयो भने, पक्कै सफलता तिर पुग्छौँ, सबैको उद्देश्य एउटै हुनुपर्छ सफल हुने उद्देश्यमा लागौँ ।”

वैकल्पिक चिकित्सा पद्धतिको विकास बिस्तार सहित सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी भएपनि त्यो अझैँ पर्याप्त हुन सकेको छैन । चिकित्सालयमा व्यवस्थापन समिति आएपछि दशौँ तहको विशेषज्ञ डा.ल्याउन सफल भयो । यति मात्रै नभएर चिकित्सालयको प्रशासनिक सुधार सँगै सरकार कहाँ बजेट, कर्मचारी, आवश्यक उपकरण, औषधी लगायत आवश्यक साधनका लागी पहल गर्ने विषयमा समिति अग्र स्थानमै रह्यो ।

यति मात्रै नभएर चिकित्सालयले जडिबुटी खरिद गरी ७ प्रकारका औषधी आफै उत्पादन शुरु गरिसकेको छ । समितिले गत वर्ष प्रदेश सरकार कहाँ विशेषज्ञ सहित ७२ जना जनशक्तिका लागी दरबन्दी माग गरेपनि २७ जनाको मात्रै स्वीकृत भएको थियो । जेनतेन सोही दरबन्दीबाट काम चलाएको चिकित्सालयले पुनःविशेषज्ञ चिकित्सकको माग गरेको छ ।

Loading...