धनगढी- धनगढी उपमहानगरपालिकाले आफ्नो आम्दानी बढाउँदै गएको छ । करका दायरा फराकिलो गर्दै उपमहानगरपालिकाले आफ्नो आन्तरिक आय बढाएको हो । लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार उपमहानगरपालिकाको आन्तरिक आम्दानी झण्डै २८ करोड पुगेको छ ।
लेखा परिक्षण अनुसार २०७९/०८० मा धनगढी उपमहानगरको आम्दानी २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ ५८ पैसा पुगेको छ । विगतका वर्ष भन्दा उपमहानगरपालिकाले २२ दशमलव ८४ प्रतिशत बढाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड १९ लाख २२ हजार ५ सय २० रुपैयाँ आन्तरिक आम्दानी रहेको उपमहानगरले गत आर्थिक वर्षमा ५ करोड ७३ लाख २५ हजार १ सय २९ रुपैयाँ बढाएर २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ ५८ पैसा पुगाएको छ ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा धनगढीले एकीकृत सम्पत्ति र घर–जग्गा करबाट चार करोड नौ लाख २८ हजार तीन सय ३२, घर–जग्गा बहाल करबाट ५ करोड ८७ लाख ३८ हजार ९ सय २ रुपैयाँ २० पैसा, व्यवसाय करबाट ३ करोड ६३ लाख २२ हजार ९५, बहाल विरौटी शुल्कमा ७ लाख २ हजार २ सय ८०, साना सवारी करबाट १० लाख ४६ हजार ३ सय ५० रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै सरकारी सम्पत्ति बिक्रीबाट २ लाख ३२ हजार ९ सय ३१ रुपैयाँ, अन्य सेवा शुल्क वा बिक्रीबाट १ करोड २७ लाख ७० हजार ७ सय ८१ रुपैयाँ सङ्कलन भएको छ ।
शिक्षा क्षेत्रको आम्दानी १४ लाख ७५ हजार ३ सय ८५, पाकिङ्ग शुल्कबाट ६४ लाख ५३ हजार ९ सय ९८, नक्सापासबाट २ करोड ९८ लाख २७ हजार ५ सय १२, सिफारिस दस्तुरबाट २ करोड ९ लाख ३ हजार ८ सय ३२, व्यक्तिगत घटना दर्ताबाट १४ लाख २ हजार ६ सय ४०, नाता प्रमाणितबाट ४ लाख ८३ हजार ६ सय ४०, अन्य दस्तुरबाट ७४ हजार, न्यायिक दण्डबाट ७७ हजार १ सय ७९, प्रशासनिक दण्डबाट १० लाख ४८ हजार ४ सय ४४, अन्य राजस्वबाट ५ करोड ८० लाख ६३ हजार ३ सय ५५ रुपैयाँ २६ पैसा र सरकारी सम्पत्तिको बाहालबाट ८७ लाख ६२ हजार ५ सय ९२ रुपैयाँ आम्दानी भएको छ ।
धनगढी उपमहानगरपालिकाले २६ करोड ८८ लाख ४६ हजार आन्तरिक आम्दानीको लक्ष्य राखेकोमा २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ सङ्कलन गरेको हो ।