एजेन्सी– नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले नरेन्द्र मोदीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक देशको प्रधानमन्त्री निर्वाचित भएका थिए ।
२०१९ मा नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बने । अहिले २०२४ मा नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू उपस्थित थिए । नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिट मध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, यसपटक भाजपाले आफ्नै बलमा बहुमत ल्याउन सकेन । मोदीले शपथ लिएपछि राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका थिए । राजनाथ सिंह अघिल्लो सरकारमा रक्षामन्त्री थिए। सन् २०१४ मा भाजपा सरकार बनेपछि राजनाथ सिंह गृहमन्त्री बने। राजनाथ सिंह लखनउबाट सांसद निर्वाचित भएका छन् ।
अमित अनिल चन्द्र शाहले तेस्रो क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । अघिल्लो सरकारमा अमित शाह केन्द्रीय गृहमन्त्री थिए। अमित शाह गुजरातको गान्धीनगर सिटबाट दोस्रो पटक सांसद निर्वाचित भएका छन् । नितिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । उनले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । नितिन गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् । भाजपा अध्यक्ष जेपी नड्डाले पनि क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। जेपी नड्डा हाल राज्यसभा सांसद र पार्टीका राष्ट्रिय अध्यक्ष छन् ।
मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । शिवराज सिंह मध्य प्रदेशको विदिशा लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन् । निर्मला सीतारमणले पनि क्याबिनेट मन्त्रीको शपथ लिएकी छिन् । निर्मला सीतारमण अघिल्लो सरकारमा वित्तमन्त्री थिइन् ।
हरियाणाका पूर्व मुख्यमन्त्री मनोहर लालले पनि क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । मनोहर लाल पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन् । खट्टरले मार्चमा हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । मनोहर लाल हरियाणाको कर्नाल लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन् ।
जेडीएसका एसडी कुमार स्वामीले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । कुमार स्वामी कर्नाटकका पूर्व मुख्यमन्त्री भइसकेका छन् । १८ औं लोकसभा चुनावमा कुमार स्वामी कर्नाटकको मण्ड्या सीटबाट विजयी भएका छन् । कुमार स्वामी पूर्व भारतीय प्रधानमन्त्री एचडी दैवा गौडाका छोरा हुन् ।