धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमाले सरकारमा जान तयार भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
स्रोतका अनुसार मुख्यमन्त्री सोडारीले सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा प्रसाद जोशीलाई समेट्न तीन वटा मन्त्रालय फुटाउँदै छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी छ ।
सरकारले भौतिक पूर्वाधारलाई फुटाएर सहरी उर्जा खानेपानी तथा सिचाई मन्त्रालय, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग पर्यटन मन्त्रालय बनाउने मस्यौदा तयार गरिएको छ । त्यसका लागि मन्त्रिपरिषद्को बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गर्ने गरि मस्यौदा बनेको स्रोतको दाबी छ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी पार्टीका उपनेता प्रकाश रावलले पनि मन्त्रालय फुटाएर कार्य विभाजन गर्दै सरकारलाई पूर्णता दिने विषयमा समझदारी जुटेको बताए । रावलले सोमबार प्रदेश सरकारले पूर्णता पाउने जानकारी दिए । तर कुन–कुन मन्त्रालय घटाइदैछ भन्ने कुरा भने उनले खुलाएनन् ।
नेकपा एमालेले समेत सोमबार प्रदेश सरकारले पूर्णता पाउने जनाएको छ । यस अघि पार्टी केन्द्रको निर्देशन पर्खिरहेको बताउने एमालेले शीर्ष तहमा सरकारमा जाने सम्बन्धमा समझदारी बनेकाले सरकारमा सहभागी हुने बताएको हो । प्रदेश सभा सदस्य धर्मराज पाठकले सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा निर्णय गर्न सोमबार (भोलि) प्रदेश संसदीय दलको बैठक बोलाइएको जानकारी दिए ।
उनका अनुसार एमाले तीन मन्त्रालयसहित सरकारमा सहभागी हुनेछ तर कुन–कुन मन्त्रालय भन्ने कुरा खुलाइएको छैन । एमालेले आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिकबाट विभाजन भएर बन्ने सहरी उर्जा खानेपानी तथा सिचाई मन्त्रालयमा दाबी गरेको स्रोतले जनाएको छ ।