उखुको जुस बेचेर मनग्य आम्दानी

धनगढी-  धनगढी उपमहानगरपालिका–३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आएकी छन् । उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिराखेकी छन् ।

शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई उखु जुसको व्यवसाय सुरु गरेको बताइन् । “पहिले अर्काको पसलमा काम गर्थे । अर्काको काम गर्दा जानीनजानी कहिलेकाहीँ गल्ती भयो भने अनावश्यक कुरा सुन्नु पर्दथ्यो। आजभोलि आफैँले व्यवसाय सञ्चालन गरेपछि कमाएको जति खर्च गरेर बचत पनि हुन्छ”, उनले भनिन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

धनगढी स्थित स्थानीय बजारबाट ६० हजारमा उखु पेल्ने मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी शर्माले मासिक ७० हजार बराबरको उखु जुसको कारोबार हुने गरेको बताइन् । उनका अनुसार बालबच्चाको लालनपालन, शिक्षा र घरपरिवारको सम्पूर्ण खर्च कटाएर ३५ हजार जति बचत हुने गरेको छ । केही दिन देखि अत्यधिक गर्मी बढेसँगै जुसको व्यवसाय झन राम्रो हुँदै आएको उनको भनाइ छ ।

लामो समयदेखि उखु जुस व्यवसाय सञ्चालन गरी जीवन निर्वाह गर्दै आएका छोटु गुप्ताले पनि यही व्यवसायबाट जीविकोपार्जन भइरहेको बताए । कैलाली र कञ्चनपुरको सीमास्थित डोके बजार नजिकै व्यवसाय सञ्चालन गर्दै आएका उनले मासिक एक लाख बराबरको कारोबार हुने गरेको बताए । कारोबारको पचास प्रतिशत जति फाइदा हुने गरेको गुप्ताको भनाइ छ । उनले धनगढीका तीन स्थानमा उखु जुस पेल्ने मेसिन राखेर व्यवसाय गर्दै आएका छन् ।

उखु जुसको व्यवसायले जीविकोपार्जनका साथै आम्दानीको स्रोत बन्दै गएको अर्का व्यवसायी अमरबहादुर चौधरीले बताए । थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसाय प्रति धेरैको आकर्षण बढ्दै गएको छ । रासस

Loading...