

धनगढी- नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले महासंघका संस्थापक अध्यक्ष अर्जुन शाहलाई ‘पत्रकारिता सम्मान’ प्रदान गरेको छ ।



सुदूरपश्चिममा पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा निर्वाह गरेको महत्वपूणर् योगदानको सम्मान गर्दै महासंघले शुक्रबार धनगढीमा आयोजित तेस्रो अधिवेशन तथा चौथो साधारणसभामा सम्मानित गरेको हो ।


सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले शाहलाई प्रमाणपत्र सहित दोसल्लाद्वारा ‘पत्रकारिता सम्मान’ प्रदान गरेका हुन् । दुई दशक देखि कान्तिपुरमा कार्यरत शाह सँगै महासंघले पत्रकारिता सम्मान कणर् शाह, राजेन्द्र नाथ र हेमन्ती चौधरीलाई प्रदान गरेको छ ।
जेष्ठ पत्रकारिता सम्मान सिद्धराज भट्ट, सञ्चारमाध्यम पत्रकारिता सम्मान धनगढीस्थित पश्चिम टुडे मिडिया हाउसका दीर्घराज उपाध्याय, दुर्गम क्षेत्र पत्रकारिता सम्मान बाजुराका निमेन्द्र शाहीलाई प्रदान गरेको छ । साथै पत्रकारिता पेसामा रहेर निरन्तर रक्तदान गर्दै आएका धनगढीका दीपक उपाध्यायलाई महासंघले समाज सेवा सम्मान गरेको छ ।





