सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी सरकार बिस्तारको तयारी
सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र मन्त्री बन्न हानथाप
अत्तरिया- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकार बिस्तारको तयारी गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसदलाई समेटेर सरकारलाई पूर्णता दिने सोडारीको तयारी छ ।
हाल सम्म सत्तारुढ दलबाट मन्त्रीको नाम सिफारिश नभएका कारण सोडारीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मन्त्रीका लागी दलहरूमा हानथाप बढेको छ । सत्तारुढ माओवादी केन्द्रमा मन्त्रीकै विवादले संसदीय दलको नेता समेत परिवर्तन गरिएको थियो । यस पटक फेरी पुरानै मन्त्री दोहोरिने सम्भावना बढेको छ ।

साउँद र धामी दोहोरिने सम्भावना
सुदूरपश्चिममा स्थायी समिति सदस्य समेत रहेका निवर्तमान दलको नेता खग राज भट्टले पुरानै दुई मन्त्रीलाई दोहोर्याउनुपर्ने अडान राखेपछि केही महिनाका लागी भएपनि पुरानै मन्त्री दोहोरिने सम्भावना बढेको हो । मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा खग राज भट्टले दलमा यही अडान राखेको माओवादी स्रोत बताउँछ । दलकै सहमतिपछि भट्ट सोडारीलाई विश्वासको मत दिन तयार भएको स्रोतको दावी छ । माओवादीले तत्कालीन सामाजिक विकास मन्त्री रहेका झपट साउँद र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रहेका रमेश सिहं धामीलाइ नै फेरी जिम्मेवारी दिन तयारी गरेको नेताहरू बताउँछन् ।
यद्यपि उनीहरूका नाममा माओवादीको संसदीय दलभित्र सहमति भने भएको छैन । यस अघि माओवादीका उपाध्यक्ष नारायणकाजीको लाइनबाट साँउद र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लाईन बाट धामी मन्त्री भएका थिए । दुबै जना छोटो अवधि मात्र मन्त्री भएकोले माओवादी केन्द्र पुनः यस पटक पनि उनीहरूलाई नै सरकारमा पठाउने तयारीमा रहेको बताईएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले भने भागबण्डा केन्द्र बाटै टुंगिने र संसदीय दलले सरकारमा जान मन्त्री सिफारिस गर्ने बताएका छन् । हाल त्यस बारे कुनै निर्णय नभएको उनले बताए ।
माओवादी संसदीय दलका उप नेता अक्कल रावलले पुरानै नदोहोरिने बताए । कसैको आफ्नो इन्टेसटले हल्ला गरिए पनि त्यस्तो कुनै निर्णय नभएको उनले बताए ।
हाल सम्म एमालेबाट सुरेन्द्र पाल मन्त्री बन्ने लगभग निश्चित भएको छ भने, बिर बहादुर थापा, चक्र मल्ल तथा दमन भण्डारी समेत मन्त्रीको लाइनमा छन् । माओवादीबाट पुरानै मन्त्री बाहेक शिव ओली, अक्कल रावल, सरल भाट लगायत मन्त्रीका लागी दौड धुपमा छन् ।