


कैलाली- कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ । अहिले मलको आपूर्ति सहजरूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको भनाइ छ ।


सुदूरपश्चिम प्रदेश भर मागको ७० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडसँग हाल एक हजार दुई सय ६६ मेट्रिकटन युरिया र ३४४ मेट्रिकटन डीएपी मल मौज्दात रहेको कार्यालय प्रमुख नवलसिंह बोगटीले बताए ।



कृषि सामग्री कम्पनीमा केही मल मौज्दात रहेको र बाँकी मल केही दिनमै आइपुग्ने भएकाले यस वर्ष मल अभाव हुने अवस्था नरहेको उनको भनाइ छ । अन्य वर्षको तुलनामा गत वर्षबाट किसानले सहजरूपमा मल पाइरहेको उनले बताए । सुदूरपश्चिममा विगतका वर्षमा विभिन्न कारणले मल आपूर्ति हुन नसक्दा अभाव हुने गरेको थियो । तर गत वर्षबाट मल आपूर्तिमा सहज भएकोले यो वर्ष रासायनिक मल अभाव नहुले प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
कृषि सामग्री कम्पनीले सहकारी मार्फत रासायनिक मल विक्री वितरण गर्दै आएको छ । सहकारी मार्फत रासायनिक मल वितरण गरिन थालेपछि यहाँका किसानले सहज रुपमा मल पाइरहेको कार्यालय प्रमुख बोगटीले बताए । सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यकता पर्ने गरेको जनाइएको छ।
प्रदेश भर कूल मागको ३० प्रतिशत मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीसँग मल मौज्दात नरहेपनि भैरहवाबाट मल आउन थालिसकेकाले जनाइएको छ। सुदूरपश्चिममा एक लाख ७९ हजार नौ सय १७ हेक्टरमा धान खेती र एक लाख ४९ हजार हेक्टरमा गहुँखेती गरिँदै आएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ। रासस





