धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् । विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन् । मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिने कार्यतालिका थियो ।
मुख्यमन्त्री शाहको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको थियो । नेपाली काँग्रेस स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउने भएका हुन् । विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टी भित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन् । उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने उनको सचिवालयले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । एक महिना सम्म नागरिक उन्मुक्तिबाट विश्वासको मत पाउने आशामा रहेका मुख्यमन्त्री शाहले अब भने विश्वासको मत पाउने सम्भावना क्षीण भएको थियो । नागरिक उन्मुक्ति पार्टी, राप्रपा र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह थिए ।
तर, नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भएका हुन । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ ।