नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा बुढा र चन्दको उम्मेदवारी

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको जिल्ला अध्यक्षको लागि लक्ष्मी बुढा र अशोक कुमार चन्दको उम्मेदवारी परेको छ । अध्यक्षमा चार जना आकांक्षी थिए ती मध्ये अन्य दुई जनाले पदाधिकारीमा उम्मेदवारी दिएपछि अध्यक्षमा बुढा र चन्दबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला उपाध्यक्ष पदमा हिरा चन्द, विष्णुदत्त अवस्थी, जनकराज अवस्थी, विष्णु कँडेलले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा पल्लवराज भट्ट, कणर् बहादुर चन्द र राधाकृष्ण जोशी (ज्वाला) ले प्रतिस्पर्धा गर्दै छन् । उपसचिवमा १० जनाको उम्मेदवारी परेको छ ।

प्रमुख निर्वाचन अधिकृत भोजराज पाठकका अनुसार उपसचिवमा जगत बहादुर सिंह, भारमल सुनार, आरपी सार्की, कुमारी लक्ष्मी भट्ट, राजीव खड्का, केशव बहादुर चन्द, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह कार्की, खिमा चन्द र चाँदनी धामी राना रहेका छन् । एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन् ।

पछिल्लो निर्वाचन तालिका अनुसार आजै मतदानको समय निर्धारण गरिएको थियो । अहिले पनि सहमतिको प्रयास भइरहेको हुँदा निर्वाचन तालिका संशोधन गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी लिए ।

बिहीबार कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न र सहमति नहुँदा स्वच्छ प्रतिस्पर्धा गर्न नेता कार्यकर्ताहरूलाई सुझाव दिएका थिए ।

Loading...