

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकार बारे निणर्य लिन संसदीय दलको बैठक बोलाएको छ । नाउपाले आज (आइतबार) दिउँसो २ बजे प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो । आर्थिक मामिलामन्त्री समेत रहेका दलका नेता घनश्याम चौधरीले बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा निणर्य गर्ने बताए ।


संघमा राजनीतिक समीकरण फेरिए सँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका थिए । नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्याउने प्रयासमा उक्त पार्टीबाट राज्यमन्त्री सहित चार जनालाई मन्त्री बनाएका थिए । चार जना मन्त्री थपे पनि उनलाई राप्रपा र स्वतन्त्र सांसदले समर्थन नगरेका कारण अहिले २५ सांसद सहित अल्पमतमै छन् ।



नाउपामा सरकार विस्तारको विषयलाई लिएर संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ बीच विवाद छ । श्रेष्ठले सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिए पनि चौधरीले समर्थन कायमै रहेको बताएका थिए ।
विवादकै बीच नाउपाका बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेका बेला अध्यक्ष श्रेष्ठले भने ह्वीप जारी गर्दै विश्वासको मत दिएकी थिइन् ।
आइतबार बस्ने प्रदेश संसदीय दलको बैठकले मुखमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भनी गर्ने निणर्यका आधारमा सुदूरपश्चिम सरकारको भविष्य निर्धारण गर्नेछ ।