डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले भोली (आइतबार) देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारको अभियान अन्तरगत नगरपालिकाले भोलि (आइतबार) देखि बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्न लागेको हो । फागुन १३ गते देखि सञ्चालन हुने खोप अभियान चैत्र ७ गते सम्म सञ्चालन हुने स्वास्थ्य सेवा शाखा प्रमुख तेज बहादुर सिँहले जानकारी दिए । देश भरका ५१ वटा जिल्लाका ५७ हजार बालबालिकामा दादुरा-रुवेला विरुद्धको खोप लगाइने छ ।
पालिकाको स्वास्थ्य शाखाले दादुरा-रुवेला विरुद्धको राष्ट्रिय खोप अभियान अन्तरगत नगरपालिका भित्रका ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप दिन लागेको हो ।
उक्त खोप अभियानलाई प्रभावकारी बनाउनका लागि पालिकाले १२ वटै वडा गाउँ टोल समुदायमा बालबालिकाहरूलाई तोकिएको समय भित्र स्थानमा गई खोप लगाउन सम्पुणर् परशुराम नगर बासिन्दा जनसमुदायहरूमा स्वास्थ्य सेवा शाखा प्रमुख सिंहले जानकारी दिए ।
दादुरा रोग ज्यादै छिटो सर्ने भाइरसबाट हुने संक्रमण रोग हो । यो रोग कुनै पनि उमेरका मानिसमा लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइने गरेको छ । खोपद्धारा बचाउन सकिने रोग मध्ये बालबालिकाको मृत्यु गराउने एक प्रमुख कारण दादुरा रोग हो । दादुरा रोग लागे पछि निमोनिया, झाडापखाला, मेनिन्जाइटिस, कुपोषण जस्ता जटिलताहरूलाई बालबालिकाको ज्यान लिन सक्दछ भने छिटो भन्दा छिटो महामारीको रूप लिन पनि सक्दछ ।
दादुरा-रुवेलाको संक्रमण भए ज्वरो आउने र शरीरमा राता बिमिरा देखा पर्ने, रुघा खोकीको लक्षण चिन्हहरू ( नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने, रोगीको सम्पर्कमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ ।