नेकपा एमाले कैलालीको निर्वाचन अनिश्चितकाललाई स्थगित

धनगढी- नेकपा एमाले कैलालीको अधिवेशनमा मतदान अनिश्चितकालका लागि स्थगित गरिएको छ । तेस्रो दिन बिहीबार दिउँसो १२ बजे देखि साँझ ५ बजे सम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत मान बहादुर जोराले अर्को सूचना जारी नभए सम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् ।

यस अघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियोे तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनु पर्ने माग गर्दै नाराबाजी समेत गरेका छन् । तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले समस्या भएको बताउँदै आइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए । उनले सहमति नभए भोलि पल्टै निर्वाचन प्रक्रिया थाल्ने निर्देशन दिएको भए पनि कैलालीमा पाँचौ दिन समेत मतदान हुन नसकेको हो ।

एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटि बैठकमा सहभागी हुन काठमाडौ गएका कारण पनि मतदानको प्रक्रिया प्रभावित भइरहेको जिल्लाका नेताहरू बताउँछन् । कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

Loading...