कैलाली- कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ । आज (बिहीबार) बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निणर्य गरेको हो ।
यो मुद्दामा २४९ जनालाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ । ‘अख्तियारको टोलीले ल्याएको पत्र रुजु गर्ने क्रममा छौं । रुजु गर्ने काम सकिएपछि मुद्दा दर्ता हुन्छ,’ स्रोतले भन्यो ।’ टीकापुर बजार क्षेत्रको करिब ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन थालेको थियो ।
अनुसन्धानपछि अख्तियारले ७ बिघा जग्गा व्यक्तिको नाममा वितरण गरेको दाबी सहित मुद्दा पेस गरेको हो । यो घटनामा सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारी संलग्न रहेका छन् । जसमा टीकापुर विकास समितिका सबैजसो पदाधिकारी परेका छन् । धेरैजसो प्रतिवादी अछाम जिल्लाका छन् । टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो । यसबारेमा अख्तियारको अनुसन्धानले भ्रष्टाचार भएको निष्कर्ष निकालेपछि मुद्दा चलाउने निणर्य भएको हो ।