डडेल्धुरा– डडेल्धुरा सदरमुकाममा सडक क्षेत्रमा पर्ने भौतिक संरचना भत्काउन सुरु गरिएको छ । अमरगढी नगरपालिकाले डोजर प्रयोग गरेर सोमबार देखि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सुरु गरेको हो।




डडेल्धुरा सदरमुकाममा सडक विस्तारका लागि मुआब्जा दिएर पनि घर नभत्काइएपछि नगरपालिकाले डोजर चलाएको अमरगढी नगरपालिका-५ का अध्यक्ष टंक बहादुर क्षेत्रीले बताए । बागबजार देखि रानीधारासम्मका घर तथा जग्गाको मुआब्जा वितरण भइसकेको छ ।


सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ । तर, मुआब्जाको सम्पूणर् रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाई भइरहेको छ ।
बजार क्षेत्रमा ५ मिटर चौडा रहेको सडकलाई विस्तार गरेर हाल ३० मिटर कायम गरिएको छ । सडक क्षेत्रका संरचना हटाउन वडा कार्यालय र नगरपालिकाले कार्तिक १३ गते ७ दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरेका थियो ।




