धनगढी- सबैतिर दसैंको रमाइलो भइरहेको बेला कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरी गाउँ भने शोकमा डुबेको छ । लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुग्नु भएको सो गाउँका २६ वर्षीय आशिष चौधरीको हमास आक्रमणमा परी मृत्यु घटनाका कारण मैनपोखरीलाई दसैंले छुन नसकेको हो ।


परिवारको एक्ला छोरा एवम् घरको सहारा आशिषको शरीर दसैंमा घर फर्कियो, तर मान्यजनबाट कहिल्यै टीका नथाप्ने र आशिष ग्रहण नगर्ने गरी । बाकसमा आएको आशिषको पार्थिक शरीर मैनपोखरी गाउँस्थित घैला खोलामा आज सदाको लागि बिलिन भएको छ । स्थानीयका अनुसार आशिषको छाती र जाँघमा गोली लागेको थियो ।

सबैतिर दसैंको रमझमले छोएको बेला आशिषलाई सदाका लागि बिदाई गरेको उनका साथी अभिमन्यु चौधरीले बताए । “दसैंमा आशिष फर्कियो, तर दसैंको आशिष ग्रहण नगर्ने गरी”, उनले अगाडि थपे,“घैला खोलामा उसको अन्त्येष्टि गरेका छौं ।”
परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर इजरायल पुगेका आशिषको निधनले घरमा अँध्यारो छाएको छ । परिवारको एक्ला छोराको वियोगमा आशिषका बाआमा विक्षिप्त भएका छन् । सन्तानको रुपमा आशिष र उनको दिदी अमृतामात्रै रहेका थिए । अमृताको विवाह भइसकेकाले घरमा आशिषको बाआमामात्रै रहेका छन् ।
लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इन्टर्नका लागि इजरायल पुगेका १० जना विद्यार्थीको हमास आक्रमणबाट ज्यान गएको थियो । मृत्यु भएकाध्ये चार जनाको शव हिजो नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको हो । केही हप्तापछि शव पाएका परिवारले आज अन्त्येष्टि गरेका छन् ।