डडेल्धुरा- डडेल्धुरामा छोराको हत्या गर्ने कार्यमा संलग्न बुवा पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ पल्टेगुडीका आठ वर्षीय छोरा भरत बोहराको हत्या गरी खाडलमा पुर्ने कार्यमा संलग्न रहेका गजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।




छोराको हत्या गरी फरार रहेका प्रतिवादी बोहरालाई प्रहरीले असोज ३० गते घरबाटै पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले बताए। डडेल्धुरा प्रहरी कार्यालयका अनुसार छोरा भरतको हत्या गर्न लगाएको भन्दै उनी फरार प्रतिवादीको सूचीमा थिए।


२०७९ पौष ३० मा घरेलु हिंसाका कारण भरतले ज्यान गुमाएका थिए। आमा कलमति र सौतेनी आमा जानकीको निरन्तरको कुटपिटबाट मृत्यु भएका भरतलाई खाल्डोमा पुरिएको अवस्थामा प्रहरीले उत्खनन गरेर शव निकालेको थियो।
मृतक बालक भरत आलितालको समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए। रोजगारको सिलसिलामा भारत रहेका गजेन्द्रले जेठी श्रीमती कलमतिलाई म घरमा आउँदा सम्म तेरो छोरा नमारे तँलाई मार्ने भन्दै धम्काउने गरेको भन्दै कलमतिले बयान दिएकी थिइन्। कलमति र जानकी पुर्पक्षका लागि जिल्ला कारागार डडेल्धुरामा रहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।




