काठमाडौँ- मुलुकमा लम्पी स्किन संक्रमित चौपाया (गाई–भैंसी)मध्ये ९४ प्रतिशत निको भइसकेका छन् । पशु विभागका अनुसार यस वर्ष १५ लाख ३६ हजार १८० चौपायामा लम्पी स्किन रोग देखिएको थियो । यीमध्ये १४ लाख ५३ हजार ४ सय ६४ चौपाया संक्रमणमुक्त भएको विभागले जनाएको छ ।


चौपायालाई खोप लगाइनु र यस सम्बन्धी सचेतना कार्यक्रम प्रभावकारी भएकै कारण लम्पी स्किन रोग न्यूनीकरण भएको विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार ६५ हजार ४ सय ४१ अर्थात् ४ दशमलव २६ प्रतिशत संक्रमित चौपायाको मृत्यु भएको छ ।

१० लाख ५३ हजार ५ सय ५२ चौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको विभागले जनाएको छ । विभागका अनुसार देशभर अझै पनि १७ हजार २ सय ७५ चौपाया लम्पी स्किन रोग संक्रमित छन् ।
सुदूरपश्चिममा बढी क्षति
लम्पी स्किन रोगले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका चौपायालाई क्षति पुर्याएको छ । यस प्रदेशमा ३ लाख ४६ हजार ८०८ संक्रमित पशुमध्ये १४ हजार ३९० को मृत्यु भएको विभागले जनाएको छ । सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा कम खोप लगाइएको छ ।
विभागका अनुसार यो प्रदेशमा ५ हजार २१४ पशुलाई मात्रै लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिमका कुल संक्रमित पशुमध्ये ३ लाख २९ हजार ४६८ निको भएका छन् । यस प्रदेशमा २ हजार ९ सय ५० चौपाया अझै संक्रमित छन् ।