अछाम- साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दसैं खर्च उपलब्ध गराएका छन्।नगरपालिकाका-१४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दसैं खर्च उपलब्ध गराएका हुन्।




नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् । एकजनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन् ।


नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दसैं मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । उनले भने, ‘मेरो पालिकाभित्रका टुहुरा बालबालिकाको अभिभावक म हुँ। त्यसैले मेरा बालबालिकाको हेरविचार मैले गर्नुपर्छ ।
मेरो कार्यकाल रहँदासम्म मेरो सेवा सुविधाबाट हरेक दसैंमा आर्थिक सहयोग गर्नेछु । दसैं दशा कसैको पनि बनोस् ।’ उनले आफूले पाउने सेवा सुविधा यस्तैखालका सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाए ।




