किसानलाई धान भित्र्याउन समस्या

धनगढी- खराब मौसमका कारण कैलालीका किसानलाई धान भित्र्याउन समस्या भएको छ । खेतमा धान पाकेको बेला मनसुन फेरि सव्रिmय भएपछि समस्या भएको गुनासो किसानको छ । जिल्लाका सबै क्षेत्रमा धानबाली पाकेर काट्ने बेला भएको छ तर पानी पर्न थालेपछि ढुक्क भएर धान काट्न र भित्र्याउन समस्या भएको छ । कतिपय किसानले भने जोखिम मोलेर धान काटिसकेका छन् ।

दुईरतीन दिनअगाडि घाम लाग्दा धेरै जसो किसानले धान काटेका थिए । पानी पर्ने कुरा सुनिएपछि हतारमा थ्रेसिङ गरेर भित्र्याएका छन् । एक बिघामा लगाइएको धान काटेर हतार हतार भित्र्याएको धनगढी उपमहानगरपालिका–७, मनहेराका कृषक भज्जी रानाले बताए ।

“पानी पर्ने डरले अरू खेतको धान काटेका छैनौँ,” उनले भने, “पानी नआएको भए अहिलेसम्म आधा धान काटेर सकिन्थ्यो ।” केही दिनअगाडि आएको हावापानीले कतिपय किसानको पाकेको धानबाली ढलाइदिएको छ ।

ढलेको धान कसैले काटिसकेका छन् भने कसैको खेतमा पानी भएका कारण काटेका छैनन् । ढलेको धान काट्न नपाउँदै फेरि पानी पर्न थालेकाले खेतमै धान उम्रिने चिन्ता बढेको कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले बताए।

“ढलेको धान आजै काट्न गएका थियौँ,” उनले भने, “तर खेत पुग्ने बित्तिकै पानी पर्न थाल्यो, नकाटी फर्कियौँ । पाकेको धान काट्न पाएनौँ भने खेतमै उम्रिन्छ ।” असोज १७ सम्म पानी पर्ने सम्भावना रहेको भन्दै धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका किसानलाई धान नकाट्न सचेत गराएको छ ।

उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाउँदै धान काट्न केही दिन पर्खन आग्रह गरेको छ । यसै गरी काटिसकेको धान भित्र्याउन पनि सो कार्यालयले किसानलाई आग्रह गरेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिन रहेको यो जिल्लामा ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । यस वर्ष बाढीले नबिगारेका कारण कैलालीमा धान उत्पादन राम्रो हुने जनाइएको छ । गोरखापत्रबाट

Loading...