धनगढी– निर्माण कम्पनीले सेती प्रादेशिक अस्पतालको भवन निर्माणमा हदभन्दा ढिलो गरेपछि आयोजना कार्यालयले निर्माण कम्पनीलाई जरिवाना लगाएको छ । अस्पतालको भवन पाँच पटक म्याद थपे पनि निर्माण सम्पन्न नगर्ने रविना–थेकिम जेभीलाई संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले दैनिक ९३ हजार ७१४ रुपैयाँका दरले जरिवाना लगाएको हो ।
आयोजना कार्यालयका इन्जिनियर शौरभ कलौनीले असार ११ गतेदेखि सो जेभीले निर्माण सम्पन्न नगर्दासम्म दैनिक ठेक्का रकमको ०.०५ प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने बताए ।
उनले निर्माण कम्पनीले जरिवाना नतिरेपछि अन्तिम भुक्तानी दिंँदा जरिवाना रकम कटौती गरेर भुक्तानी दिइने बताए । २०७४ कात्तिकमा २८ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी १८ करोड ७४ लाखमा सम्झौता भएको थियो । सम्झौता भएको ६ वर्षसम्म पनि दुई तले भवन निर्माण अलपत्र पारेपछि आयोजना कार्यालयले जरिवाना लगाएको हो ।

निर्माण कम्पनीले लापरबाही गरी निर्माणका लागि पेटी ठेकेदार लगाएर काम गराएका कारण पाँच पटक समय थप्दा पनि निर्माण सम्पन्न भएको छैन । निर्माण कम्पनीले भवन निर्माण सम्पन्न नगरेपछि भवन अभावमा सेती प्रादेशिक अस्पतालले अधुरो भवनबाट ओपीडी सेवा सुरु गरेको छ ।
निर्माण कम्पनीले अहिले सेती प्रादेशिक अस्पतालसँग लिखित रूपमा दुई महिनाको समय माग गरेको छ । तर सो निर्माण कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छैन । निर्माणाधीन भवनमा भित्रबाट प्लास्टर गर्न, टायल लगाउन, झ्याल–ढोका लगाउन, बत्ती जडान गर्न र रंगरोगन गर्न बाँकी छ । कात्तिकसम्म सक्याउने गरी अस्पतालसँग सम्झौता भई काम गरिरहेको जानकारी आएको इन्जिनियर कलौनीले बताए ।
सरकारीतर्फबाट विद्युतीकरणको डिजाइन बाहेकमा ढिलाइ गर्नुको अर्को कारण नभए पनि निर्माण कम्पनीले दुई गुणा बढी समय लगाएको छ । अबको दुई महिनामा समेत निर्माण कम्पनीले सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गरी ठेक्का रद्द गरिने आयोजना कार्यालयले जनाएको छ ।भवन निर्माण सम्पन्न नहुँदा एमआरआई लगायतका सेवा विस्तारमा अस्पताललाई समस्या परेको छ ।
अस्पतालले बेड राख्ने ठाउँ अभावमा ग्यालरीमै बेड राखेर उपचार गर्ने गरेको छ । २०३९ मा सरकारबाट ५० शैयाको अनुमति पाएको अस्पतालले निजी स्रोतबाट ७५ बेड थपी १२५ शैयाको सेवा दिइरहेको छ । यस अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारले दुई सय शैया सञ्चालनको तयारी गरिरहेको छ । कारोबारबाट