बाजुरा- बाजुरामा एक समूहले दुई जना युवकमाथि कुटपिट गरेको छ। जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।




खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा लगेर खुकुरी, नक, काठले कुटपिट गरेको आफन्तले बताएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको बताए। सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको र संलग्नको खोजी कार्य भइरहेको उनले बताए ।


घाइते दुवै जनाको अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूका अनुसार त्यो दिन पहिला सामान्य झगडा भएकोमा पछि १०/१२ जनाको समूहले कुटपिट गरेको थियो ।
प्रहरीले कुटपिटको घटनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको भन्दै मुद्दा कमजोर बनाएको आफन्तले आरोप लगाएका छन्। अहिलेसम्म कुटपिट संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले प्रहरीकै भूमिका पनि शङ्कास्पद रहेको बताएका छन्।

