धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साँउदले ताईवानको काओसेङ शहरमा अगष्ट १८ देखि २० सम्म आयोजना हुन गईरहेको ‘दोस्रो एशियाली युथ बीच चकबल च्यापियनसीप’ मा भाग लिन गईरहेको नेपाली टोलीलाई शनिबार बिदाई गरेका छन् ।
सामाजिक विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री साँउदले नेपाली टोलीलाई विदाई गर्दै देशका लागि पदक ल्याउन शुभकामना दिए ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका साँउदले सुदूरपश्चिममा खेलको विकासका लागि आवश्यक बजेट र सहयोग गर्न सदैव तत्पर रहने बताए ।
सुदूरपश्चिमले थुप्रै बिधामा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माएको छ, जसले यो क्षेत्र र देशलाई चिनाएका छन्, मन्त्री साँउदले भने, आगामि दिनमा पनि खेलाडीहरुको प्रोत्साहन र खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्न म प्रतिबद्ध छु ।
यस पटक धनगढीको नन्दिनाज एकेडेमीका १२ जना खेलाडी, टीम म्यानेजर र टोली नेता समेत गरी १४ जनाले ‘दोस्रो एशियाली युथ बीच चकबल च्यापियनसीप’मा भाग लिदैछन् । उनीहरुलाई खादा तथा माला लगाएर मन्त्री साँउदले बिदाई गरेका हुन् ।
पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायले ताईवानको काओसेङ शहरमा आयोजना हुन गईरहेको दोस्रो एशियाली ‘बीच चकबल’ प्रतियोगितामा भाग लिन धनगढीबाट गईरहेको नेपाली टोलीलाई देशका लागि पदक ल्याउन शुभकामना दिए ।
नन्दिनाज एकेडेमीका कार्यकारी निर्देशन तथा टोलीका नेता महेश बिष्टले ताईवानको काओसेङ शहरमा अगष्ट १८ देखि २० सम्म आयोजना हुन गईरहेको दोस्रो एशियाली ‘बीच चकबल’ प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरेकोमा नेपाल चकबल संघका बरिष्ठ उपाध्याय त्रिलोक पाण्डेयलाई धन्यवाद दिए ।
उनले बिदाई कार्यक्रमको आयोजना गरी खेलाडी र टीमको हौसला बृद्धि गरेकोमा मन्त्री साँउद प्रति आभार व्यक्त गरे । बिष्टले खेलका माध्यमबाट बालबालिकाहरुको आत्मविश्वास र हौसला बृद्धि हुने चर्चा गर्दै आफ्ना नानीबाबुहरुलाई प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गरेकोमा अभिभावकहरुलाई समेत धन्यवाद दिए ।
नेपाल चकबल संघका बरिष्ठ उपाध्यक्ष त्रिलोक पाण्डेयले बल प्रयोग गरेर खेलिने चकबल खेल समुन्द्र तथा नदी किनारको बालुवामा र हलभित्र खेलिने बताए । उनले नेपालमा २०११ मा भित्रिएको चक बल खेलका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यसअघि काठमाण्डौंका टीमहरु मात्र सहभागी भएपनि पहिलो पटक सुदूर पश्चिमबाट चकबलको टीमले भाग लिन लागेको भन्दै खुशी व्यक्त गरे । विदाई कार्यक्रम जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दोस्रो एशियाली युथ बीच च्यापियनसीपमा १५ वर्ष मुनीका छात्रा तर्फ वर्षा बिष्टको नेतृत्वमा निर्मला भट्ट, दिव्या नेपाली, निष्ठा भट्ट, स्मारिका सिजापती सोव र सोही उमेर समूहको छात्र तर्फ रोजन शाहीको नेतृत्वमा कणर्बीर बिष्ट, प्रिन्स एसके, प्रतिक सिंह टेर, अनिष खड्का, मोहम्मद ओवैस आलम, सात्विक ठाकुरले भाग लिदै छन् । टोली नेतामा नन्दिनाज एकेडेमीका कार्यकारी निर्देशक महेश बिष्ट र व्यवस्थापकमा प्रिन्सिपल सञ्जु आचार्य रहेकी छन् ।
