धनगढी- आन्तरिक मामीला तथा कानून मन्त्री शिवराज भट्टले प्रदेश संरचनाका बारेमा प्रश्न उठाए संघीयतालाई नै खतरा हुने बताएका छन । बैतडी समाज कैलालीले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन
‘अहिले प्रदेश संरचनाका बारेमा विरोध सुरु हुन थालेको छ । यसका बारेमा प्रश्न पनि उठाउन थालिएको छ, तर प्रदेश संरचनाका बारेमा विरोध भएमा त्यसले संघीयतालाई नै असर पर्छ । संघीयतालाई असर पर्ने वित्तिकै संविधानलाई असर पर्छ’ मन्त्री भट्टले भने । ‘संविधानलाई असर पर्ने वित्तिकै हामीले प्राप्त गरेको उपलब्धी गुम्ने खतरा रहन्छ ।’
मन्त्री भट्टले प्रदेश सरकारले जनमुखी कामहरु गरेर जनताको मनजित्नुपर्ने बताए । ‘जनभावना अनुसार प्रदेश सरकारले काम गर्नुपर्छ । म मेरो जिम्मेवारी जनभावना अनुसार निभाउने प्रयास गर्नेछुु’ उनले भने ।
विकास निर्मार्णको बजेट आफ्नो मन्त्रालयमा नभएपछि कानून बनाएर विधीको शासनका लागि प्रयास गर्ने मन्त्री भट्टको भनाई थियो । ‘अझै कतिपय जनमुखी कानूनहरु निर्माण भएका छैनन । जस कारण जनताको पक्षमा काम गर्न कठिनाई भएको छ, त्यसैले मेरो प्रयास जनमुखी कानून निर्माणमा रहनेछ’ मन्त्री भट्टले भने ।
बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको स्वागत तथा सम्मान कार्यक्रममा समाजका सदस्य केशव दत्त पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । मन्त्री भट्टलाई बाजागाजा सहित समाजको सचिवालयमा स्वागत गरिएको थियो ।
तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिहको असार ५ गते सडक दुर्घटनामा निधन भएको थियो । सिहको निधनपछि विहीबार मात्रैै भट्ट आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए । भट्ट बैतडी निर्वाचन क्षेत्र २ बाट प्रदेश सभामा प्रत्यक्ष जितेका थिए ।
