आँखा पाक्ने राेगकाे समस्या बढ्दो

धनगढी- कैलालीमा बालबालिकादेखि अन्य उमेर समूहका व्यक्तिहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । विद्यालय अध्ययनरत विद्यार्थी आँखा पाक्ने रोगबाट बढी ग्रसित भइरहेका छन् । उनीहरुमा एकबाट अर्कोमा आँखा पाक्ने रोग सर्दै विकराल रुप लिइरहेको धनगढी उपमहानगरपालिका–९ का भूपेन्द्र चौधरीले बताए ।

विद्यालयमा विद्यार्थी आँखा पाक्ने रोगबाट बढी नै ग्रसित हुन थालेपछि आफ्नो बच्चालाई विद्यालय पठाउन पनि डर लाग्न थालेको उनको भनाइ छ । “हुँदाहुँदै घरछिमेकमा पनि यस्तो समस्या देखापरिरहेको छ”, उनले भने,“बालबच्चालाई यो रोगबाट कसरी जोगाउने होला रु”

मौसमका कारण भाइरल इन्फेक्सनको रुपमा आँखा पाक्ने समस्या धेरैमा देखापरिरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । धेरै समय चर्को गर्मीपछि पानी पर्दा यस्तो समस्या बालबालिकादेखि वृद्धवृद्धामा पनि देखापरिरहेको स्वास्थ्यकर्मीहरु बताउछन् । आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि उपचार गराउनका लागि स्वास्थ्य संस्थामा पुग्ने पनि बढिरहेका छन् ।

सहरी क्षेत्रमामात्रै नभई गाउँघरमा पनि यस्तो समस्या बढेको पवेरा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताए । आँखाको समस्या भएका १०/११ जना सेवाग्राही दैनिक उपचारका लागि पुग्ने गरेको उनले उल्लेख गरे ।

आँखा पाक्ने समस्या भएका बिरामीमा आँखा दुख्ने, आँखा रातो हुने, कचेरा आउने, आँखा टाँसिएको हुने, उज्यालोमा आँखा बिझाउने जस्ता समस्या देखिने गरेको जनाइएको छ । भाइरल कन्जङटिभिटिज भाइरसको कारण आँखा पाक्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

भाइरलको रुपमा यो रोग विभिन्न माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको वरिष्ठ फिजिसियन प्रोफेसर डा। शुभेषराज कायस्थले बताए । उनले सङ्क्रमित व्यक्तिको संसर्गमा आएकालाई यो रोग छिटै सर्ने गरेको उल्लेख गरे । “सङ्क्रमितले हातको सरसफाई नगरी जथाभावी यत्रतत्र छुने, आँखाबाट निस्केका फोहोर जथाभावी पुछ्ने कार्य गर्नाले यो रोग अरुमा सर्छ”, कायस्थले भने ।

आँखा पाक्ने समस्याबाट छुट्कारा पाउनका लागि दुई दुई घण्टामा चिसो पानीले आँखा धुने र औषधि हाल्नु पर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह छ । यसैगरी, सकेसम्म चश्माको प्रयोग गर्ने बताइएको छ । आँखा पाक्ने रोगबाट जोगिनका लागि बिरामीले प्रयोग गरेका सामान अरुले प्रयोग गर्न नहुने जनस्वास्थ्य निरीक्षक चौधरीले बताए । एक हप्तामा आँखा पाक्ने रोग निको हुने गरेको उनले उल्लेख गरे ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.