धनगढी- कैलालीमा जेलरले रुपैयाँ लिएर कैदीलाई भगाएको आरोप लागेको छ। लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका कैलाली गौरीगङ्गा नगरपालिका–९ का ईश्वर पौडेलबाट कारागार प्रमुख पदमराज तिमिल्सेनाले रुपैयाँ लिएर भगाएको कारागार स्रोतले बताएको हो।




पछिल्लो समय जेलर तिमिल्सेना प्रति कैदी बन्दी असन्तुष्ट रहेको एक जना कैदीले बताएका छन्। तिमिल्सेनाले मोटो रकम लिए, तिमीहरूलाई जेलबाट भगाइदिने भन्दै आएको नाम नबताउने सर्तमा ती कैदीले बताए।


३४ ग्राम लागू औषध खैरो हिरोइनसहित पारस बम, राम सिराडी र ईश्वर पौडेल चार महिना अगाडि पक्राउ परेका थिए। पक्राउ परेका मध्ये जेलर तिमिल्सेनाले पौडेलबाट रुपैयाँ लिएर भगाएको आरोप छ। यस विषयमा जेलर तिमिल्सेनालाई बुझ्दा उनले कैदी पौडेललाई छोडेको स्वीकार गरेका छन्। उनले आफूले रुपैयाँ नलिएको दाबी गरे ।
ईश्वर पौडेल १५ ग्राम लागू औषध खैरो हिरोइनसहित पक्राउ परेको मुद्दामा सफाइ पाएको आधारमा छोडेको र ३४ ग्राम खैरो हिरोइनसहित पक्राउ परेको मुद्दामा भने सफाई नपाएको बताए। एक सातादेखि खोजी भइरहेको उनले बताए ।

