धनगढी- सरकारले तोकेका निःशुल्क औषधि दुर्गमका नागरिकले पाउँदैनन् । कैलालीको पहाडी क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा सरकारले तोकेका निःशुल्कमध्ये अधिकांश औषधि पाइँदैन । स्वास्थ्य संस्थाले उपचारका लागि पुग्ने बिरामीलाई कतिपय औषधि नभएपछि औषधिविनै पठाउने गरेका छन् ।



मोहन्याल गाउँपालिकाको सुगरखाल स्वास्थ्य चौकीमा सरकारले निःशुल्क तोकेकामध्ये करिब २२ प्रकारका औषधि मात्र उपलब्ध छन् । कतिपय आवश्यक औषधि नभएपछि बिरामीलाई अन्यत्रबाट लिन भन्ने गरेको स्वास्थ्य चौकी प्रमुख जयानन्द जैसीले बताए ।



‘सात–आठ दिनअघिसम्म औषधि सकिएर १०–१२ प्रकारका मात्र थिए । बर्खामा समस्या हुन्छ भनेर गाउँपालिकालाई आग्रह गरेपछि केही औषधि थपिएका हुन्,’ उनले भने, ‘बढी खपत हुने केही औषधि छन्, निःशुल्क तोकेका सबै औषधि कहिल्यै हुँदैनन् ।’
सुगरखाल स्वास्थ्य चौकीमा दैनिक ८० देखि सयजनासम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । विकट क्षेत्र भएकाले मेडिकलमा समेत सबै औषधि नपाइने जैसी बताउँछन् । ‘सेवाग्राहीको जानकारीका लागि निःशुल्क पाइने औषधिको सूची टाँसेका छौँ । तर, ती सबै औषधि बिरामीले यहाँबाट पाउँदैनन्,’ उनले भने ।
जिल्लाकै दुर्गम पण्डौन स्वास्थ्य चौकीमा पनि सरकारले निःशुल्क तोकेकामध्ये अधिकांश औषधि छैनन् । कतिपय औषधि बिरामीले स्थानीय मेडिकलबाट किन्ने गरेका छन् । ‘स्रोत–साधनको अभावले धेरै प्रकारका उपचारात्मक सेवा दिने अवस्था पनि छैन ।
सामान्य प्रकारका केही औषधि मात्र उपलब्ध छन्,’ स्वास्थ्य चौकी प्रमुख महेन्द्र शाहीले भने, ‘धेरैजसो बिरामी उपचारका लागि तराईतिर जान्छन् ।’ औषधि नपाउँदा दुर्गम क्षेत्रका बिरामी बढी मारमा पर्ने गरेका छन् । सहरी क्षेत्रमै रहेका स्वास्थ्य संस्थामा पनि सरकारले तोकेका सबै प्रकारका औषधि उपलब्ध हुँदैनन् ।

