
बैतडी- बैतडी सदरमुकामको वडा दशरथचन्द नगरपालिका–४ जर्गस्थित भिटा भीरको बाटो निर्माण गरिएको छ । गाउँका बासिन्दाले दैनिक नियमित सदरमुकाम जाने सो बाटोबाट लडेर केही सयमअघि तीन जनाले ज्यान गुमाएका थिए । अहिले सो बाटो निर्माण भएपछि स्थानीयलाई सहज भएको छ । बाटो निर्माणमा दशरथचन्द नगरपालिकाले १० लाख रकम खर्चिएको हो ।

जर्गस्थित भिटा भीरको बाटोबाट ६ महिनाअघि मात्रै एक स्थानीयको लडेर ज्यान गएको थियो । यसैगरी, पाँच वर्षअघि एक भरियाको ज्यान गएकामा १५ वर्षअघि एक कर्मचारीको कार्यालय जाँदै गर्दा लडेर ज्यान गएको थियो ।

यसअघि समेत कयौं स्थानीयले सोही ठाउँमा लडेर ज्यान गुमाएको बूढापाकाको भनाइ छ । जिल्ला सदरमुकामकै वडामा यस्तो समस्या भएपछि दशरथचन्द नगरपालिका बाटो बनाउन अग्रसर भएको थियो ।

वडाध्यक्ष भानदेव भट्टले निर्वाचनका बखतसमेत बाटो बनाउने प्रतिबद्धता गरेका थिए । नगरप्रमुख पुष्करराज जोशी लख्खाभाइले अहिले बाटो अधुरै रहे पनि आगामी वर्षमा पूर्णता दिइने बताए । आफूले पाएको ठेक्काअनुसार परिपक्व काम गरेको उनको भनाइ छ ।
३ सय ५० मिटर लम्बाइ रहेको अप्ठ्यारो भीरको बाटोको अहिले करिब सवा २ सय मिटरमा रेलिङ लगाइएको छ । अझै १ सय ५० मिटरमा रेलिङ लगाएर बाटो पीसीसी गर्न बाँकी रहेको छ । नयाँ योजना आए मात्रै बाटो निर्माण कार्य पूरा गर्न सकिने निर्माण व्यवसायी खेमराज पाण्डेयले बताए ।
सो बाटोमा सयबढी विद्यार्थी दैनिक यात्रा गर्छन् । जर्ग गाउँ तरकारी उत्पादनको प्रसिद्ध क्षेत्र भएकाले दैनिक तरकारी बोक्ने दर्जनबढी भरिया यात्रा गर्छन् । यसैगरी, कर्मचारी र बजारबाट सामान खरिद गर्ने स्थानीय यसै बाटोमा यात्रा गर्ने भए पनि बाटो निकै जोखिमपूर्ण थियो ।
सो बाटोमा रातिसमेत यात्रा गरिने भएकाले पीसीसी गरेर सोलारबत्तीसमेत जडान गर्ने योजना रहेको वडा सदस्य देवराम लोहारको भनाइ छ । बाटो जोखिमपूर्ण भएकाले विद्यार्थीसँगै उनीहरूका अविभावकले समेत विद्यालय जानुपर्ने बाध्यता छ ।