अछाम- नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार राष्ट्रका साझा मुद्दामा कमजोर रहेको बताएका छन् । अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारीले आज गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।


राष्ट्रिय एकता, अर्थतन्त्र र समातामुलक समाज निर्माण र देशको अस्थिरता हटाउनुमाभन्दा सत्ता टिकाएर स्वार्थ पूरा गर्नमा सरकार लागेको उनले बताए । ‘राष्ट्रका साझा मुद्दामा राष्ट्रिय एकता हुन सकेको छैन, अर्थतन्त्र धरासायी हुँदैछ । राजनीति अस्थितरतातिर जाँदैछ त्यसमा सरकारलाई चिन्ता देखिएन’ ज्ञवालीले भने ।



प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या, १९५० को असमान सन्धी, ईपीजी प्रतिवेदन, हवाइ रुटका बारेमा सम्झौता हुन नसके पनि भारतले आफ्नो चाहना पूरा गरेको भनाइ राख्नुभयो ।
आफ्नो पार्टी वर्तमान सरकार ढाल्ने पक्षमा हाल नभएको भन्दै सरकारकै कारण देश संकटतिर गएको बताए । पत्रकारको प्रश्नमा ज्ञवालीले काँग्रेस भित्रका केही नेताहरु पनि सरकार परिवर्तनको पक्षमा रहे पनि निर्णायक हुन नसकेको बताए ।
देशमा हुने सबै प्रकारका भ्रष्टाचारलगायतका सुशासनविरुद्धका काम छानविनमा आफ्नो पार्टी दृढतापूर्वक सरकारलाई सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । तर राजनीतिक वा अन्य तरिकाले पूर्वाग्राही नभइ प्रहरी र अदालतलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने बताए ।
उपमहासचिव ज्ञवालीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा अछाम अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरे । ज्ञवाली नेकपा ९एमाले० अछामद्वारा आयोजित जिल्लास्तरीय प्रशिणका लागि अछाम पुग्नुभएको छ ।