अत्यधिक गर्मी, जनजीवन प्रभावित

दोधारा चाँदनी- केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताए । ‘मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ,’ उनले भने, ‘बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।’

Dadeldhura hospital

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गरे । ‘गर्मीका कारण ज्वरो आउने, आलस्य हुने चक्कर आउनेलगायतका रोग हुन सक्छन् सबैले सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘बाहिर निस्कनुपरे छाता ओढ्ने, चस्मा लगाउने प्रशस्त मात्रामा पानी खाने गर्नुपर्छ ।’

अत्यधिक गर्मी बढेपछि यहाँको जनजीवन प्रभावित बनेको हो । गर्मी बढेपछि कैलालीमा चार दिनका लागि विद्यालय बन्द गरिएको छ भने कञ्चनपुरमा जिल्ला समन्वय समितिले सूचना जारी गर्दै बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । अहिले जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ, खोप केन्द्र पनि विद्यालयमै छन्,’ उनले भने, ‘खोप अभियानका कारण बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न सबै पालिकालाई पत्राचार गरेका छौँ ।’ गर्मीका कारण विद्यालय जाने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् । रासस

Loading...