

धनगढी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैतडीको झुलाघाट नाकामा दुई वटा पक्की पुल बनाउने घोषणा गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीको हैदरावाद हाउसमा भएको कार्यक्रमका क्रममा मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई वटा पुल बनाउँने बताएका हुन् ।


यसअघि बैतडीका नागरिकहरुले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि भारतसंग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गरेका थिए ।



पुरानो नाकाको रुपमा रहेको झुलाघाटमा मोटरेवल पुल नहुँदा समस्या झेलीरहेकाले प्रधानमन्त्रीले भारतीय समकक्षीसंगको वार्तामा यो बिषयलाई प्राथमिकता दिनुपर्ने त्यस क्षेत्रका नागरिकले माग गरेका थिए।
झुलाघाट नाकामा करीब २ सय बर्ष अघि निर्माण भएको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ। यो नाकामा मोटरेवल पुल निर्माणका लागि नेपाली मात्रै नभएर सीमावर्ती भारतीय नागरिकले समेत माग गर्दै आएका छन्।
नेपाल र भारतमा सीमा क्षेत्रका नागरिकहरुबीच पारिवारिक, सांस्कृतिक, सामाजिक र व्यपारिक सम्बन्ध रहेकाले यो नाकामा पुल अनिवार्य रहेको स्थानीयहरुको भनाई छ।

