
काठमाडौं- यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्यो । साताको कारोबारको पहिलो दिन गत आइतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएर हालसम्मकै सर्वाधिक रेकर्ड कायम भयो । त्यसपछि भने सातोको कारोबारको अन्तिम दिन शुक्रबारसम्म सो रेकर्ड ब्रेक हुन सकेको छैन । बरु सुनको मूल्य सातामा रेकर्ड पार नभइ घटबढ भइरहेको छ।





सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भयो भने मंगलबार १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भयो । तर, बुधबार सुनको मूल्य ह्वात्तै घट्यो । सो दिन तोलामा २ हजार रुपैयाँ घट्दै सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भयो ।




यस्तै बिहीबार भने सुनको मूल्य बढेर १ लाख ९ हजार पुग्यो भने शुक्रबार थप बढेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको रेकर्डमा देखिन्छ । समग्रमा यो साताको अन्तिमसम्म सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको देखिन्छ ।