डोटीमा सडकका खाल्डा पुर्ने भन्दै भत्काएर ठेकेदार फरार

डोटी- डडेल्धुरा दिपायल जोड्ने केआईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका–१० बानेड्ंग्रिसैन सडकमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने भन्दै सडक नै भत्काएर निर्माण व्यवसायी फरार भएका छन् । सडकमाथि एक तह थप्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम २०७९ साल वैशाख ३० गतेभित्र सम्पन्न गरिसक्ने गरी सडक डिभिजन कुलपाते र आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि, कैलालीबीच २०७८ साल कात्तिक २६ गते ठेक्का सम्झौता भएको थियो ।

त्यही ठेक्का अन्तरगत बानेडुंग्रिसैन बजार क्षेत्रमा सडकको दायाँ बायाँ भत्काएर निर्माण व्यवसायी पुनस् काममा नफर्केको स्थानीयवासीको आरोप छ । सडक भत्काएपछि आफूहरुलाई गाडी चलाउन धेरै समस्या भएको धनगढी–सिलगढी रुटमा चल्ने माइक्रो बसका चालक खडकबहादुर लामाले बताए । उनले भने, ‘तीव्र गतिमा गाडी आइरहेको हुन्छ, साइड दिनलाई सडकबाट तल झार्नुपर्ने अवस्था छ, सडक भत्काएर हैरान बनायो ।’

Bhancha ghar0

ठेक्का सम्झौताको म्याद थप्न सडक डिभिजन कुलपातेमा भने निर्माण व्यवसायी समयमै पुगे । पहिलो पटक म्याद सकिएको भोलिपल्टै अर्थात् २०७९ साल वैशाख ३१ गते सडक डिभिजनले २०८०, जेठ मसान्तसम्मका लागि म्याद थप भएको नौ महिना बित्दा समेत निर्माण व्यवसायी काम गर्न नफर्केको अर्का स्थानीय इन्द्रबहादुर बलायरले बताए ।

उनले भने, ‘सडक भत्काएर ठेकेदार काममा फर्केनन्, म्याद थप गर्दा पनि काम हुँदैन अब कारबाही कस्ले गर्ने ?’ उता सडक डिभिजन कुलपातेका सूचना अधिकारी इन्जिनियर रामचन्द्र जैशीले सडकको खाल्डा पुर्ने जिम्मा पाएका निर्माण व्यवसायी कार्यालयको सम्पर्कमा नभएको बताए । उनले भने, ‘हामीले पटक पटक फोन गर्दा पनि कोही सम्पर्कमा आउँदैनन्, कहिलेकाहीँ फोन उठाइहाले पनि तुरुन्तै काम सुरु गर्छु भन्छन् तर गर्दैनन् ।’

मध्यपहाडी लोकमार्ग आवधिक मर्मत कार्य अन्तर्गत ४ करोड ६२ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको यस सडकमा जम्मा २० प्रतिशत मात्रै भौतिक प्रगति भएको इन्जिनियर जैशीले जानकारी दिए । उनका अनुसार १३ प्रतिशत वित्तीय प्रगति भएको छ ।

निर्माण व्यवसायीले कहिले केही, कहिले केही बहाना बनाइरहेका छन् । सडक मर्मतको जिम्मा लिएको निर्माण कम्पनीका सञ्चालक टेकबहादुर सेठी आफूले यो काम गर्न आशबहादुर गुरुङलाई जिम्मा दिएको बताए । उनले भने, ‘कम्पनीको तर्फबाट सम्पर्क व्यक्ति, ठेक्का सम्झौता गर्ने, काम गर्ने सबै जिम्मा उनकै हो, काम नभएको भन्ने गुनासो आएपछि मैले पनि ताकेता गरेको छु, अब एक हप्ताभित्रै काम सुरु हुन्छ ।’

 

Leave A Reply

Your email address will not be published.