अत्तरिया- राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न एक साताअघि सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी चुनावी सभा सम्बोधन गर्न आज (शनिबार) सुदूरपश्चिम आउँदै छन् ।


अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार आज डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् ।

बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेन २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्की चुहाँको लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ । यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन् ।
यसअघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए । भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचार प्रसारमा पनि सुदूरपश्चिमबाटै राष्ट्रियताको विषयलाई बुलन्द गरिरहेका छन् ।
