


काठमाडौ– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजै मध्यरातबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । मंगलबार बसेको आयोगको बैठकले आचारसंहिताबारे निर्णय गरेको हो ।



निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।


प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताएका छन्। ‘निर्वाचन आयोगले आज रातिदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ,’ थपलियाले भने, ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’
आयोगले दलहरुलाई २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ । २ र ३ असोजमा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । आयोगले बन्दसूचीमा पेश गरिएको नाम सच्याउन १६ असोजसम्मको समय दिएको छ ।





