

अत्तरिया- सुन्दर सुदूरपश्चिम कृषि सहकारी संस्था लिमिटेड, गोदावरी नगरपालिका–१ अत्तरिया, कैलालीको आठौँ वार्षिक साधारण सभा शनिबार प्रतिभा पुस्तकालयको हलमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष हरिदत्त भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार समिति सदस्य नन्दलाल भट्ट प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशीको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तेजराज पनेरुले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव कालीमाया भट्टराईले गर्नुभएको थियो।
साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको सेयर पुँजी आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ३४ हजार रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ६१ लाख १३ हजार ६०० रुपैयाँ पुगेको छ।
त्यस्तै, सदस्य बचत तथा निक्षेप २०८१/८२ मा ९३ लाख २३ हजार ८१४ रुपैयाँ रहेकोमा २०८२/८३ मा बढेर १ करोड १४ लाख ५५ हजार ६०३ रुपैयाँ पुगेको छ।
संस्थाको कुल सम्पत्तिसमेत वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ मा १ करोड ८९ लाख ९१ हजार ९८६ रुपैयाँ रहेको कुल सम्पत्ति २०८२/८३ मा बढेर २ करोड २० लाख ८२ हजार १९४ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।
यद्यपि, संस्थाको करपछिको बचत भने आर्थिक वर्ष २०८१/८२ मा २९ लाख २२ हजार २८० रुपैयाँ रहेकोमा २०८२/८३ मा ६ लाख ७७ हजार ५१८ रुपैयाँ रहेको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीप्रति आम नागरिकमा पछिल्लो समय अविश्वास बढ्दै गएको अवस्थामा स्थानीयस्तरमा सञ्चालित सुन्दर सुदूरपश्चिम कृषि सहकारीले निरन्तर प्रगति गरिरहेको बताएका थिए। स्थानीयस्तरमा स्थापित सहकारी भएकाले सदस्यहरूको विश्वास र सम्बन्ध बलियो रहेको उल्लेख गर्दै सहकारीले आर्थिक तथा संस्थागत विकासमा उल्लेखनीय फड्को मारिरहेको उनीहरूको भनाइ थियो।
२०७६ वैशाख ११ गते ५८ जना व्यापारीको सहभागितामा स्थापना भएको संस्थाले छोटो समयमै वित्तीय तथा संस्थागत क्षेत्रमा प्रगति गर्न सफल भएको वक्ताहरूले बताएका थिए।
साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलगायतलाई सम्मानसमेत गरिएको थियो।
सभाले संस्थाको आर्थिक तथा संस्थागत प्रगतिका विषयमा समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरेको थियो।




