काठमाडौं- प्रधानमन्त्री बालेन शाहले छठ पर्वले जीवनका हरेक अवस्थालाई समान श्रद्धा र सम्मान गर्नुपर्ने गहिरो दर्शन सिकाउने बताएका छन्।




छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनका हरेक अवस्थालाई सम्मान गर्न प्रेरित गर्ने बताएका हुन्।







उनले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्नुका साथै जीवनमा आउने सुख–दुःख र उतारचढावलाई समान रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिने उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको बताएका छन्।
सन्देशमा सरकारले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी, छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्दै प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमा सधैँ रहिरहोस् भनी शुभकामना व्यक्त गरेका छन्।




