अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै आज छठ पर्व मनाइँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विधिपूर्वक मनाइन्छ।

छठ पर्वको मुख्य दिन व्रतालुहरूले दिनभर कठोर निराहार व्रत बसेर साँझ नदी, तलाउ, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। त्यसपछि रातभर जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन गरिन्छ।

Navadurga sun

धार्मिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख पाइन्छ।

छठ पर्वमा सूर्यदेव र षष्ठी माताको पूजा आराधना गर्दा परिवारमा सुख, शान्ति, समृद्धि र सन्तानको कल्याण हुने धार्मिक विश्वास रहेको छ। यस पर्वमा बाँसका ढाकी, नाङ्लो तथा सुपामा केरा, उखु, नरिवललगायतका फलफूल र प्रसाद सजाएर सूर्यदेवलाई अर्पण गरिन्छ।

यस पर्वको अर्को विशेषता शुद्धता र पवित्रता हो। व्रतालुहरूले चोखो खानपान गर्ने, घरआँगन सफा राख्ने र सात्विक भोजन गर्ने परम्परा छ।

२०४६ सालअघि तराईका सीमित क्षेत्रमा मात्र विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय देशभर विस्तार भएको छ। अहिले पहाडी तथा हिमाली क्षेत्रमा समेत श्रद्धा र भक्तिपूर्वक छठ मनाउने गरिन्छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायतका स्थानमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ। वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा समेत व्रतालु तथा श्रद्धालुहरूको चहलपहल बढेको छ।

चार दिनसम्म चल्ने छठ पर्व कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न हुनेछ।

ADD Khali jpg
Loading...