कञ्चनपुर- महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएपछि पुल वारिपारिका होटल तथा पर्यटन व्यवसाय संकटमा परेका छन्। पुलमा क्षति पुगेपछि आवागमन बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घटेको छ भने स्थानीय व्यवसायीको आम्दानीसमेत ठप्प भएको छ।




गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले पुलको एउटा पिल्लर भत्काएपछि स्थानीय प्रशासनले सुरक्षाका लागि पुलको दुवैतर्फ आवागमन बन्द गरेको हो। पुल बन्द भएपछि त्यस क्षेत्रमा सञ्चालित होटल तथा अन्य व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन्।





होटल व्यवसायी मोहनबहादुर सिंहका अनुसार पुल सञ्चालनमा रहँदा दैनिक आठदेखि दस हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो। तर पुल बन्द भएपछि व्यवसाय धराशायी बनेको छ।
“पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो भयो। स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ। हिँडडुल पूर्ण रूपमा बन्द हुँदा व्यापार व्यवसाय धराशायी बन्यो,” उनले भने।
दसैँतिहारको समयमा पर्यटकको चहलपहल बढी हुने र त्यही समयमा वर्षभरिको राम्रो आम्दानी हुने गरेको व्यवसायी सिंहले बताए। दूरीका हिसाबले छोटो पर्ने भएकाले दोधारा चाँदनीका स्थानीय तथा दुईपाङ्ग्रे सवारीसाधनले समेत उक्त पुल प्रयोग गर्दै आएका थिए।
पुल भत्किएपछि आएको प्राविधिक टोलीले पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ लागत लाग्ने र निर्माण सम्पन्न गर्न एक वर्षसम्म समय लाग्न सक्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ।


“महाकाली नदीमा पानी घटिसक्यो। अब सरकारले पुल निर्माणको काम थालनी गरिदिए हुन्थ्यो। पुल नबन्दासम्म वारिपारिका व्यवसायी निराश छन्,” सिंहले भने।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराका अनुसार विगतमा दसैँतिहारको समयमा दैनिक दुईदेखि तीन हजार पर्यटक झोलुङ्गे पुल अवलोकनका लागि आउने गरेका थिए। तर यस वर्ष पुल बन्द भएपछि क्षेत्र सुनसान बनेको छ।
हिउँदको समयमा शैक्षिक भ्रमणका लागि समेत विद्यार्थी तथा पर्यटक आउने भएकाले पुल बन्द हुँदा होटल, पसललगायत पर्यटनसँग सम्बन्धित व्यवसायमा असर परेको उनले बताए।
“पुल भत्किएका बेला अवस्था बुझ्न जनप्रतिनिधिदेखि राजनीतिज्ञसम्म यहाँ आउनुभयो। तर स्थलगत रूपमा पुल पुनर्निर्माणको कुनै सुरसार देखिएको छैन,” वडाध्यक्ष बोहराले भने। उनले पुल पुनर्निर्माणको काम तत्काल अघि बढाउन सरकारसँग मागसमेत गरेका छन्।
पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यद्यपि प्राविधिक प्रतिवेदनले अनुमान गरेको २० करोड रुपैयाँ लागतको तुलनामा उक्त रकम पर्याप्त नदेखिएकाले थप बजेट व्यवस्थापनको आवश्यकता देखिएको छ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पनि पुल पुनर्निर्माणको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार दोधारा चाँदनी झोलुङ्गे पुल आवागमनको सहज माध्यम मात्र नभई कञ्चनपुरको महत्वपूर्ण पर्यटकीय गन्तव्यसमेत हो।
“पुल समयमा नबने यहाँ पर्यटक आवागमनसमेत घट्ने अवस्था छ। पर्यटन प्रवर्द्धनका लागि पनि पुल पुनर्निर्माण छिटो हुनु आवश्यक छ,” अध्यक्ष मल्लले भने।
पुल पुनर्निर्माणमा ढिलाइ भइरहँदा स्थानीय होटल व्यवसायी, व्यापारी तथा पर्यटन क्षेत्रमा निर्भर नागरिकको रोजगारी र आम्दानी प्रभावित हुँदै गएको छ। त्यसैले आवश्यक बजेट व्यवस्थापन गरी पुनर्निर्माण प्रक्रिया शीघ्र अघि बढाउन स्थानीयवासी तथा व्यवसायीले माग गरेका छन्।




