विपद् जोखिम न्यूनीकरणका लागि तथ्यमा आधारित पत्रकारिता आवश्यक : मुख्यमन्त्री भट्ट

धनगढी- सुदूरपश्चिम प्रदेशका नदी किनारमा रहेका बस्तीहरू बाढी तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम न्यूनीकरणका लागि तथ्य, अनुसन्धान र तथ्याङ्कमा आधारित पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।

जलवायु परिवर्तनका कारण प्राकृतिक वातावरणमा देखिन थालेका अस्वाभाविक परिवर्तनबारे खोजमूलक समाचार सामग्री तयार पार्दै नागरिकलाई समयमै सचेत गराउन उनले सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए ।

Navadurga sun

अग्रलेख मल्टिमिडियाले आयोजना गरेको जलवायु पैरवी, विपद् व्यवस्थापन तथा डिजिटल सञ्चार, एआई र डेटामा आधारित पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विपद् आउनुअघि नै सम्भावित जोखिमबारे नागरिकलाई जानकारी गराउनु पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए ।

‘हाम्रा सहर र बस्तीहरू अहिले पनि नदी किनारमै छन् । चमेलिया, रङ्गुन, सेती, बुढीगङ्गा र कैलाश खोलाको आसपास ठूला बस्ती छन् । त्यहाँ ठूलो विपद् आयो भने के हुन्छ ?’ उनले प्रश्न गर्दै जलवायु तथा विपद्का विषयमा अनुसन्धान र तथ्याङ्कमा आधारित पत्रकारिता आजको आवश्यकता भएको बताए ।

उनले विपद्का घटनाबाट हुने मानवीय क्षति सशस्त्र द्वन्द्वको तुलनामा समेत बढी रहेको दाबी गर्दै क्षति न्यूनीकरणका लागि पत्रकारिताले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । उनका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वको तुलनामा विपद्का घटनाबाट ३३ प्रतिशत बढी मानिसको ज्यान गएको छ ।

जलवायु परिवर्तनको असर कृषि उत्पादन र प्राकृतिक स्रोतमा समेत देखिन थालेको मुख्यमन्त्री भट्टले बताए । स्याउ उत्पादन हुने क्षेत्रमा सुन्तला र आँप फल्न थालेको, पानीका मुहान सुक्दै गएको तथा तराई क्षेत्रमा बसाइँसराइ बढ्नुमा जलवायु परिवर्तनको प्रभावसमेत रहेको उनको भनाइ थियो ।

उनले विपद् र जलवायु परिवर्तनका असरबारे मात्रै नभई सुदूरपश्चिमका कृषि तथा आर्थिक समृद्धिका सम्भावनालाई पनि पत्रकारिताले प्राथमिकता दिनुपर्ने बताए । कमजोर राष्ट्रहरूले जलवायु परिवर्तनको बढी असर भोग्नुपरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको आवाज सुनिनुपर्ने धारणा राखे ।

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा सुदूरपश्चिमका नौवटै जिल्लाका २४ जना पत्रकार सहभागी छन् । तालिममा प्रदेशका विभिन्न विपद् जोखिम, जलवायु परिवर्तनका प्रभाव तथा डिजिटल प्रविधिको प्रयोगबाट तथ्याङ्कमा आधारित समाचार तयार पार्ने सीप प्रदान गरिने अग्रलेखका निर्देशक योगेश रावलले जानकारी दिए ।

प्रदेशमा ठूलो विपद्को जोखिम रहेकाले त्यसको प्रभावकारी रिपोर्टिङ गर्ने तरिका सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जलवायु परिवर्तनका विषयमा पत्रकारितामार्फत जनचेतना फैलाउनुपर्ने बताए । एआईको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग रोक्न र सही सूचना सम्प्रेषण गर्न पत्रकारहरू थप जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले तालिमबाट सिकेका सीपलाई समाचार उत्पादनमा प्रयोग गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाउँदै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।

त्यस्तै, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गहेन्द्र बमले तालिमको आवश्यकतामाथि प्रकाश पारे । अग्रलेखका कार्यकारी निर्देशक हरि जोशीले विपद्बाट हुने क्षति न्यूनीकरण र सामाजिक सचेतना अभिवृद्धिमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

तथ्य तथा तथ्याङ्कमा आधारित पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ ।

ADD Khali jpg
Loading...