कैलाली- काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक बस पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।
सुदूरपश्चिम यातायातको सुप्र०१–००१ ख २३३० नम्बरको बस बर्दघाट नगरपालिका–४ स्थित मोडनजिक महेन्द्र राजमार्गमा अनियन्त्रित भई पल्टिएको हो।



दुर्घटनामा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्करसिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ की ३० वर्षीया भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का र दार्चुलाको मार्मा गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशी घाइते भएका छन्।
यस्तै, बसचालक कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक र सहचालक गोदावरी नगरपालिका–१ का ४६ वर्षीय मोहन जोशी पनि दुर्घटनामा घाइते भएका छन्।
दुर्घटनापछि सातै जना घाइतेलाई उद्धार गरी उपचारका लागि बर्दघाट नगर अस्पताल पठाइएको छ। दुर्घटना हुनुको कारणबारे भने थप विवरण आउन बाँकी छ।
