धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि शनिबारसम्मका लागि स्थगित गरिएको छ।
बिहीबार बिहान ८ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सरकारको आग्रहमा शनिबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।



प्रदेश सरकारले बुधबार साँझ ५ बजे बस्ने बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको थियो। तर बजेट तयारी पूरा नभएपछि बैठक बिहीबार बिहानसम्मका लागि सारिएको थियो। मन्त्रालयगत बजेट प्रणालीमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका योजना इन्ट्री हुन नसकेको भन्दै बजेट प्रस्तुत गर्न नसकिएको बताइएको छ।
यसैबीच, तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेटविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बुधबार सरकार र रिट निवेदक दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ।
कानुनी जानकारहरूका अनुसार सर्वोच्च अदालतको आदेशले नयाँ बजेट ल्याउन रोकावट गर्दैन। यद्यपि, प्रदेश सरकारभित्रको आन्तरिक असहमतिका कारण बजेट प्रस्तुत गर्न ढिलाइ भइरहेको स्रोतको दाबी छ।
तत्कालीन सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेश अहिले बजेटविहीन अवस्थामा छ।
