नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भए पनि वर्षाको गतिविधि भने बढेको छ। मौसमविद्का अनुसार आज असोज २० गते पनि देशका पहाडी तथा हिमाली भेगका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।




पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी नेपालमा कायम मनसुनी प्रणालीका साथै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु नेपाल भित्रिरहेकाले वर्षाको गतिविधि बढेको मौसमविद् डा. विनोद पोखरेलले बताएका छन्।





त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. पोखरेलका अनुसार हिजोको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र र वर्षाको मात्रा दुवै बढ्ने सम्भावना छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी एक–दुई दिन वर्षाका गतिविधि जारी रहने जनाएको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार बिहानपख वर्षा रोकिए पनि दिउँसोदेखि वर्षाको गतिविधि पुनः बढ्ने सम्भावना छ।
आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी भूभागका एक–दुई स्थानमा खण्डित रूपमा भारी वर्षासमेत हुनसक्ने मौसमविद् दाहालले जानकारी दिएका छन्।
मौसम पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहने सम्भावना छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, मधेश र कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षासमेत हुनसक्ने अनुमान गरिएको छ।


काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना
काठमाडौं उपत्यकामा आज दिउँसो मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् दाहालले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुनसक्ने सम्भावना रहेको छ।
कैलाली, बर्दिया र दाङमा भारी वर्षा
पछिल्लो १२ घण्टामा कैलाली, बर्दिया र दाङका केही स्थानमा भारी वर्षा भएको छ।
सबैभन्दा धेरै कैलालीको बलियामा १००.४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै बर्दियाको दौलतपुरमा ६८.२ मिलिमिटर र दाङको जलकुण्डीमा ७०.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
पछिल्लो १२ घण्टामा कर्णालीदेखि कोशीसम्मका विभिन्न क्षेत्रमा वर्षा भएको छ। विशेषगरी कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि हिजो दिउँसो तथा राति काठमाडौं उपत्यकामा समेत वर्षा भएको थियो। काठमाडौंको बबरमहलमा १२ घण्टाको अवधिमा ३० मिलिमिटर वर्षा मापन गरिएको थियो।




