जुगेडामा असोज २५ देखि रामलीला तथा सांस्कृतिक कार्यक्रम

धनगढी- धनगढी उपमहानगरपालिका–१२ जुगेडामा यही असोज २५ गतेदेखि ‘रामलीला तथा सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ।

जुगेडा राइजिङ युवा क्लब र निःशुल्क ज्येष्ठ नागरिक चियाघरको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो।

Navadurga sun

धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने, स्थानीय कलाकार तथा युवाको प्रतिभा प्रस्फुटन गराउने र समुदायलाई सांस्कृतिक गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका सचिव किशोरकुमार जोशीले बताए।

उनका अनुसार कार्यक्रममा नेपाल तथा भारतबाट समेत दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। करिब १४ लाख रुपैयाँ लागतमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको मुख्य प्रायोजक मयुर डेरी रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

कार्यक्रमका निर्देशक खुमदत्त सञ्जेलले रामलीलाको कथावस्तु आदिकवि भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको ‘रामायण’मा आधारित रहेको बताए। उनका अनुसार नेपाली भाषामा प्रस्तुत गरिने रामलीला भगवान् श्रीरामको जीवनीमा आधारित नाटकीय प्रस्तुति हुनेछ।

युवालाई सामाजिक, धार्मिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय गराउँदै सकारात्मक परिवर्तनमा सहभागी गराउने कार्यक्रमको लक्ष्य रहेको क्लबका अध्यक्ष रामचन्द्र भट्टले बताए।

आयोजकका अनुसार कार्यक्रम आगामी कार्तिक ४ गतेसम्म सञ्चालन हुनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...