धनगढी- कल २४ न्युज प्रालिले ‘फुटसल टुर्नामेन्ट २०८३ सिजन–२’ आयोजना गर्ने भएको छ। प्रतियोगिता असोज २४ र २५ गते धनगढीस्थित वाल्मीकि फुटसलमा सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
खेलकुदको प्रवद्र्धन, युवा सशक्तिकरण तथा दुव्र्यसनमुक्त समाज निर्माणको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

गत वर्ष पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि यस वर्ष सुदूरपश्चिमका खेलप्रेमी युवालाई एउटै मञ्चमा जोड्दै स्वस्थ जीवनशैलीप्रति सचेत गराउने उद्देश्यसहित प्रतियोगितालाई थप परिस्कृत र भव्य रूपमा सञ्चालन गर्न लागिएको हो।


यसपटक प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने पुरुष टोलीले ५ हजार रुपैयाँ र महिला टोलीले ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ।
पुरुषतर्फ विजेता टोलीले ५० हजार ५५ रुपैयाँ र उपविजेता टोलीले ३० हजार ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, महिलातर्फ विजेता टोलीले २२ हजार २२२ रुपैयाँ र उपविजेता टोलीले ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन्।
यसैगरी पुरुषतर्फ उत्कृष्ट विधागत खेलाडीलाई जनही २ हजार ५०० रुपैयाँ तथा महिलातर्फ उत्कृष्ट विधागत खेलाडीलाई जनही १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै स्वस्थ जीवनशैली, अनुशासन र दुव्र्यसनमुक्त समाज निर्माणको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
