अत्तरिया- चाडपर्वको समयमा यात्रु तथा सर्वसाधारणलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले कैलालीको अत्तरिया बसपार्कमा नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ।
“ट्राफिक नियमको पालना, सभ्य समाजको सिर्जना” भन्ने सन्देशसहित स्थापना गरिएको सहायता कक्षले दशैं, शुभ दीपावली तथा छठ पर्वका अवसरमा यात्रुहरूलाई सुरक्षित र सहज यात्राका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले आइतबार यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन्।


उद्घाटन कार्यक्रममा डीआईजी भट्टराईले चाडपर्वका बेला यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन, यात्रुको सुरक्षा, गुनासो तथा समस्या समाधान र आवश्यक सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए।
अत्तरिया हुँदै यात्रा गर्ने यात्रुहरूले यात्राका क्रममा कुनै समस्या, ठगी, दुर्व्यवहार वा अन्य असहजता भएमा यात्रु सहायता कक्षमा सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नेछन्।
अत्तरिया बसपार्कसहित सुदूरपश्चिम प्रदेशका विभिन्न बजार तथा यात्रुको बढी चाप हुने क्षेत्रमा समेत यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
स्थापित सहायता कक्षमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरिया तथा इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियासँग सम्बन्धित सम्पर्क तथा समन्वयको व्यवस्था गरिएको छ।
