सुदूरपश्चिममा वर्षा बढेसँगै नदी–खोलामा बहाव बढ्यो, सतर्क रहन आग्रह

धनगढी- सुदूरपश्चिम प्रदेशमा लगातार वर्षा भइरहेसँगै नदी, खोला तथा जलस्रोतमा पानीको बहाव बढ्न थालेको छ। तत्कालै ठूलो बाढीको चेतावनी दिने अवस्था नरहे पनि आगामी दुई दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार शाहका अनुसार पछिल्लो समय वर्षासँगै विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ। रातिको समयमा केही स्थानमा बहाव बढे पनि बिहान केही घटेको र शनिबार दिउँसो पुनः केही नदी तथा खोलाको सतह बढेको उनले बताए।

Navadurga sun

“हिजोदेखि वर्षा भइरहेको छ। बहाव बढेको भए पनि अहिलेसम्म चेतावनीको तहमा पुगेको अवस्था छैन। राति केही बहाव बढे पनि बिहान घटेको थियो, तर आज दिउँसो केही स्थानमा पानीको सतह फेरि बढेको छ,” शाहले भने।

उनका अनुसार शनिबार र आइतबार कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र अछामका केही नदी तथा खोलामा पानीको सतह सतर्कताको नजिक पुग्न सक्ने अवस्था देखिएको छ। बैतडी, दार्चुला, बझाङ र बाजुरालगायतका पहाडी क्षेत्रमा भने वर्षाका कारण जोखिम बढेको उनले बताए।

अछाममा १५६ मिलिमिटरभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा अछाममा १५६ दशमलव ६ मिलिमिटर वर्षा भएको छ। धनगढी र अत्तरियालगायतका क्षेत्रमा १५१ दशमलव ८ मिलिमिटर तथा भजनी र बेलौरी क्षेत्रमा करिब १४० मिलिमिटर वर्षा मापन गरिएको बताइएको छ।

कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पनि करिब १३० मिलिमिटर आसपास वर्षा भएको छ।

पहाडी क्षेत्रमा पहिरोको जोखिम

लगातारको वर्षाका कारण पहाडी तथा चुरे क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको छ। चुरे तथा पहाडी क्षेत्रमा परेको पानी तल झर्दा कैलाली र कञ्चनपुरका होचा तथा डुबान प्रभावित क्षेत्रमा समेत असर पर्न सक्ने शाहले बताए।

“चुरे तथा पहाडी क्षेत्रमा बढी पानी पर्दा पहिरो जाने सम्भावना हुन्छ। त्यहाँ परेको पानी तल झर्दा कैलाली र कञ्चनपुरका होचा तथा डुबान प्रभावित क्षेत्रमा समेत असर पर्न सक्छ,” उनले भने।

हालसम्म सुदूरपश्चिमका प्रमुख नदी तथा खोलाहरूले बाढीको ‘वार्निङ लेभल’ अर्थात् चेतावनी तह पार गरिसकेको अवस्था भने नरहेको कार्यालयले जनाएको छ। कैलाली र कञ्चनपुरका नदीहरूमा समेत जलस्तर चेतावनी तहमा नपुगेकाले तत्काल ठूलो डुबानको अवस्था नरहेको शाहको भनाइ छ।

वर्षा निरन्तर भए जोखिम बढ्न सक्ने

आइतबार र सोमबारसम्म पनि लगातार वर्षा भइरहेमा नदी तथा खोलाको बहाव थप बढ्न सक्ने भएकाले जोखिमलाई बेवास्ता नगर्न आग्रह गरिएको छ।

“अहिले नै ठूलो डुबानको अवस्था छैन। तर वर्षा भोलि र पर्सिसम्म निरन्तर भइरह्यो भने नदी–खोलाको बहाव बढेर चेतावनीको तहमा पुग्न सक्ने सम्भावना रहन्छ,” शाहले भने।

कञ्चनपुरका जोखिमयुक्त क्षेत्रमा स्थानीय प्रशासन तथा सुरक्षा निकायले पूर्वतयारीसमेत थालेका छन्। जोखिममा रहेका केही बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

मौसम तथा नदी–खोलाको जलस्तरमा हुने परिवर्तनलाई मध्यनजर गर्दै आइतबार दिउँसोसम्म सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी तथा खोला आसपासका बासिन्दा, पहाडी क्षेत्रमा यात्रा गर्ने नागरिक तथा डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई मौसम तथा जलस्तरसम्बन्धी पूर्वसूचना लिएर मात्रै यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।

“मौसमको अवस्था र नदी–खोलाको जलस्तरबारे बेलाबेलामा पूर्वसूचना लिन आवश्यक छ। मौसम विभाग तथा सम्बन्धित निकायले जारी गर्ने सूचना हेरेर मात्रै यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गर्छौं,” शाहले भने।

ADD Khali jpg
ADD Khali jpg
Loading...