सुदूरपश्चिमसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न भूभागमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ। साथै देशभर मनसुनी वायु र पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

Navadurga sun

हाल देशभर अधिकांश भूभागमा बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ।

सुदूरपश्चिममा धेरै स्थानमा वर्षाको सम्भावना

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, लुम्बिनीका तराई भूभागका केही स्थानमा तथा बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी र मधेस प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

केही स्थानमा भारी वर्षा र हावाहुरीको जोखिम

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना समेत रहेको छ।

राति पनि वर्षाको सम्भावना

आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने तथा अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।

रातिको समयमा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भारी वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन तथा आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...