लक्ष्मी भट्ट/अत्तरिया- ‘सबैको साथ, सबैको विकास, गाँस, बास र कपास’ भन्ने अभियान मन्त्रलाई आत्मसात गर्दै युवा नेता लोकराज पाण्डे ‘आगो’ ले जेष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको सहारा बन्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवाको घोषणा गरेका छन्।
पाण्डेले गोदावरी क्षेत्रका चारवटा सामाजिक संस्थालाई मासिक एक–एक हजार रुपैयाँका दरले जीवनभर सहयोग गर्ने घोषणा गरेका हुन्। उनले महिला तथा बालबालिका सेभ हाउस, दृष्टि फाउन्डेसन, गोदावरी जेष्ठ नागरिक र अपाङ्ग एकता समाजलाई नियमित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाण्डेले आफ्ना पिता वासुदेव पाण्डे, स्वर्गीय माता लक्ष्मीदेवी पाण्डे तथा श्रीमती गीतादेवी पाण्डेको स्मरण गर्दै सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्ने बताएका छन्।


कार्यक्रममा बोल्दै पाण्डेले सामाजिक संस्थाहरूले विशुद्ध रूपमा समाजसेवा गर्ने क्रममा विभिन्न बाधा र अड्चन सामना गर्नुपर्ने भएकाले यस्ता संस्थालाई सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए।
उनले भने, “मैले सानो सहयोग गरेँ, अर्कोले पनि आफ्नो क्षमताअनुसार अलि–अलि सहयोग गर्न सक्छ। धेरै जनाको सानो सहयोग एक ठाउँमा जम्मा भयो भने ‘थोपा–थोपा मिलेर सागर बन्छ’ भन्ने उखानजस्तै ठूलो काम गर्न सकिन्छ।”
आफ्नो सहयोगलाई सुरुवाती प्रयासका रूपमा लिँदै पाण्डेले समाजका आर्थिक रूपमा सक्षम व्यक्तिहरूलाई पनि सामाजिक संस्थाहरूको सेवामा हातेमालो गर्न आग्रह गरे। उनले आफ्नो सानो प्रयासले अरूलाई पनि प्रेरित गर्ने र त्यसबाट सामाजिक सेवाको अभियान अझ व्यापक बन्ने विश्वास व्यक्त गरे।
पाण्डेले जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नगरी सामाजिक सेवासँग जोड्दै चारवटा संस्थालाई जीवनभर नियमित सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
